अर्थ विकास तथा प्राकृतिक स्रोत समितिद्वारा सरोकारवालाहरुसित छलफल

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिद्वारा सरोकारवालाहरुसित छलफल

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धी एैनबारे सरोकारवालाहरुसित छलफल गरेको छ । 

समितिले आइतबार प्रदेश सभाका अन्य तीन वटा समितिका सभापति सहित प्रतिनिधि र अन्य सरोकारवालाहरुको उपस्थितिमा बजार अनुगमन, कालोबजारी नियन्त्रण उपभोक्ताहरु माथि हुने ठगी नियन्त्रण गर्न तीनै तहका सरकारका संयन्त्रहरु सक्रिय बनाउन छलफल गरेको समितिका सभापति हर्क बहादुर कुँवरले बताउनुभयो ।

आइतबारको छलफलमा तराईका जिल्लाहरुमा भइरहेको बजार अनुगमन जस्तै पहाडी जिल्लाहरुमा पनि हुनुपर्ने निर्णय गरिएको छ । बजार अनुगमनका क्रममा खाद्यान्न सहित निर्माण सामग्री र उपभोक्राको हित सित जोडिएका सबै बिषयमा अनुगमन हुनपर्ने समेत निर्णय गरिएको सभापति कुँवरले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबारको छलफलमा प्रदेश सभाको विधायन समितिका सभापति नेपालु चौधरी सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम तथा बाणिज्य तथा आपुर्ति बिभागको समेत जिम्मेवारी रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री माया भट्ट र सचिव सहित उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक बिनोद माली, बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कमल पुन आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रतिनिधि, कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो ।