निर्माण सामग्रीको मूल्य घट्यो

निर्माण सामग्रीको मूल्य घट्यो

धनगढी , निर्माणका कामले गति लिन नसक्दा पछिल्लो तीन महिनायता निर्माण सामाग्रीको मूल्य घटेको छ। गत वर्षको तुलनामा पनि यो वर्ष निर्माण सामाग्रीको मूल्य घटेको निर्माण सामाग्री बिक्री वितरक बताउँछन्।

अघिल्ला केही वर्षमा निर्माण सामाग्रीको मूल्य बढेको भन्दै उपभोक्ताहरुले आवास निर्माण गर्न नसकिएको गुनासो गरेका थिए।

०७२ को महाभूकम्पले भत्काएका घर निर्माण धमाधम भइरहेको समयमा निर्माण सामाग्रीको भाउ बढ्दा उपभोक्ता निराश बनेका थिए । अहिले भने निर्माण सामाग्रीको मूल्य घटेको छ।

फलाम र डन्डीको मूल्य अन्तर्रा्ष्ट्रिय बजारमै घटेको ग्रील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए। उनले प्रति के.जी डन्डीको मूल्य तीन महिनायता १२र१३ रुपियाँले घटेको जानकारी दिनुभयो ।


हाल निर्माण सामाग्रीको मूल्य घट्नुमा भूकम्पले भत्काएका धेरैजसो संरचना पुनर्निमाण भइसकेकाले माग घट्नु एक कारण रहेको निर्माण सामाग्री विक्रेता दिपक श्रेष्ठले बताउनुभयो ।

‘अहिले निर्माणका काम नै सुस्त भइरहेका छन, भूकम्पले भत्काएका कतिपय संरचना पनि बनिसकेका छन्, यसकारण अहिले निर्माण सामाग्रीको माग पनि घटेको हुँदा मूल्य घट्नु स्वभाविक हो’ उहाले भन्नुभयो ।

गत वर्षभन्दा यो वर्ष सिमेन्टको मूल्य प्रतिबोरा ७५ देखि १०० रुपियाँले घटेको श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी, डन्डीको मूल्य किलोमा १० देखि १५ रुपियाँले घटेको छ। अहिले डन्डीको मूल्य बजारमा प्रतिकेजी ७२ देखि ७५ रुपियाँ रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, पीपीसी सिमेन्टको मूल्य प्रतिकेजी ६०० देखि ६५० रुपियाँसम्म रहेको छ भने ओपिसी सिमेन्टको मूल्य ७ सय ५० देखि ८ सयसम्म रहेको छ।

यता नेपाल हेभी इक्वुपमेन्ट व्यवसायी संघका अध्यक्ष गोकुल कुँवरले भने इटा, बालुवा तथा गिट्टीको मूल्य नघटेको बताउनुभयो ।

उहाका अनुसार हाल एक नम्बर एलपी इट्टाको मूल्य १५ रुपियाँ रहेको छ। जुन अघिल्लो वर्षकै मूल्य हो। त्यसैगरी, ‘वासिङ’ बालुवा एक टिप बराबर २५ हजार रहेको छ भने खोलाको बालुवा प्रति टिपर२४ हजार रहेको छ।

गिट्टीको मूल्य पनि अघिल्लो वर्षको तुलनामा घटबढ नभएको कुँवरले बताए। मेलम्चीको सेतो गिट्टीको मूल्य प्रति टिप २० हजार रहेको छ।
निर्माण सामाग्रीले बजार नपाउँदा उद्योग नै धरापमा परेको इट्टा व्यववसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकारले बताउनुभयो।

‘अहिले निर्माणका काम नै भएका छैनन्, यसकारण बजार ठप्प हुँदा उद्योग नै चलाउन नसकिने अवस्था छ ’उहाले भन्नुभयो ।