धनगढी : धनगढी उपमहानगरपालिका–१४ फुलबारीमा मासुका लागि गौहत्या गरिएको खुलेको छ। बिहीबार राति स्थानीय रामकृष्ण चौलागाईंको गोठमा बाँधेर राखेको गाई चोरी सोही ठाउँका स्थानीय अशोक तामाङ र दुई नाबालकले मासुका लागि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गाईलाई वडा नम्बर–१४ कै जनकल्याण सामुदायिक वनमा लगेर काटेर मासु निकाली लगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। गाईको टाउको नछुट्याई जिउँदै मासु निकालेको पाइएको उनले बताए।
गौ हत्या गर्ने ४५ बर्षे तामाङसहित दुई नाबालकलाई पक्राउ प्रहरी हिरासतमा ल्याइएको उनले बताए। उनीहरूका साथबाट मासु काट्न प्रयोग गरिएको बन्चरो, हसिया, गंडसा बरामद गरिएको जनाइएको छ।