सौर्य बत्ती जडान सँगै डोटीका प्रमुख बजार झिलिमिली

सौर्य बत्ती जडान सँगै डोटीका प्रमुख बजार झिलिमिली

डोटी : पछिल्लो समय डोटीका प्रमुख बजारमा जोडिएका सौर्य बत्तीले बजारहरु उज्याला भएका छन् ।जिल्लाको प्रमुख ब्यापारिक केन्द्र पिपल्ला, सिलगढी, दिपायल तथा राजपुरमा जडान गरिएको सौर्य बत्तीले यहाँका बजार रातभर झिलिमिली हुने गरेका छन् ।

रकम भुक्तानी नदिएको भन्दै दिपायल पिपल्लामा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरु ठेकेदारले केही महिना पहिले उखेलेर लगेपछि बजार अन्धकार भएको थियो ।

तर दिपायल सिलगढी नगरपालिकाले बाँकी रकम दिने सम्झौता गरेपछि पुनः ठेकेदारले बजारमा बत्ती जडान गरिदिएपछि बजार झिलिमिली बनेको हो । आफूहरुसँङ्ग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्य बत्तीहरु ठेकेदारले गएको गएको वर्ष फागुन २५ गते उखेलेर लगेको थियो ।

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासी, ठेकेदार कम्पनी मनिङ्गसन, उद्योग वाणिज्य संघका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल तथा पत्रकारहरुसहित बसेको बैठकले गरेको निर्णय अनुसार ठेकेदार कम्पनी मनिङ्गसनले बजारमा उखेलेका सौर्य बत्ती (सोलार बत्ती) जोड्नु पर्ने र बाँकी रकम दिने सम्झौता भएपछि अहिले पुनः सौर्य बत्ती जोडिएको हो ।