प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

यसपालिको सम्मेलनमा पनि नेपालले आफ्नो विगत देखिको प्रतिबद्धतालाई दोहोर्याउने डा. भट्टराईले जानकारी दिए । असंलग्न आन्दोलनको आठारौं शिखर सम्मेलन कात्तिक ८ र ९ गते हुनेछ ।  सो सम्मेलनमा असंलग्न आन्दोलनमा सामेल विश्वका थुप्रै राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने छ । 

शीत युद्ध ताका असंलग्न आन्दोलनको ठूलो महत्व महसुस भएकोमा पछिल्लो समयमा केही सेलाए जस्तो देखिए पनि अहिले फेरि विश्व दुई ध्रुवमा केन्द्रीत भइरहेका बेलामा हुन लागेको असंलग्न आन्दोलनको शिखर बैठकलाई धेरैले महत्वका साथ हेरेको पाइएको छ ।