टीटेनमा सन्दीप

टीटेनमा सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले टीटेन लिग पनि खेल्ने भएका छन् । विभिन्न राष्ट्रमा आयोजना हुँदै आएको फ्रेन्चाइज टीट्वेन्टी लिगमा व्यस्त सन्दीपले दोस्रो पटक टीटेन लिग खेल्न लागेका हुन् ।

१० ओभरको टीटेन लिग दुई वर्ष अघिबाट सुरु भएको हो । संसारभर टीट्वेन्टी फरम्याटले तहल्का पिटिरहेका बेला क्रिकेटलाई अझ रोमाञ्चक बनाउन टीटेन लिग सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को विशेष पहलमा सुरु भएको लिग विगत तीन वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधावीमा सञ्चालन हुँदै आएको छ।

अघिल्लो संस्करण केरला किङ्समा आबद्ध सन्दीपलाई यस पटक कर्नाटका टस्कर्र्सले आफ्नो टोलीमा अनुबन्ध गरेको हो । विदेशी कोटामा अनुबन्ध भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पाउने छन् । कर्नाटकको आइकोनिक खेलाडीमा दक्षिण अफ्रिकाका प्रारम्भिक ब्याट्सम्यान हसिम अमला रहेका छन् ।

कर्नाटका टस्कर्र्समा इभिन लेविस, प्यान ब्राउन, जोन्सन चाल्र्स, मार्लोन सामुयल्सलगायत रहेका छन् ।

आबुधावीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा बंगला टाइगर्स, डेकन ग्लाडियटर्स, दिल्ली बुल्स, मराथा अरबियन्स, अर्थन वारियर्स र लाहोर कलन्दरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा डेकन ग्लाडियटर्स र दिल्ली बुल्सबीच प्रतिस्पर्धा हुनेछ ।

सन्दीप हालै मात्र इङ्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पनि परेका छन् । ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । एक सय बलको हुने द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य एक लाख पाउन्ड रहेको छ ।

सन्दीप विदेशी कोटामा ड्राफ्टमा परेका हुन् । द हन्ड्रेडको खेलाडी लिलामी भने आइतबार हुनेछ ।