नेता-कार्यकर्ता पक्राउको प्रतिरोध गर्ने विप्लवको चेतावनी

नेता-कार्यकर्ता पक्राउको प्रतिरोध गर्ने विप्लवको चेतावनी

नेकपा महासचिव नेत्रविक्रम चन्दले आफ्ना नेता-कार्यकर्ता पक्राउको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै चन्दले दाङबाट २१ जना नेता-कार्यकर्ता पक्रेर सरकारले दमनको नीति अपनाएको आरोप लगाएका छन्।

उनले केपी ओलीको सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धी दिन असफल भएपछि जनवादी शक्तिविरुद्ध निरंकुश हुन थालेको आरोप पनि लगाए। उनले सरकारको दमनको नीतिविरुद्ध जागरुक हुन अपील पनि गरेका छन्।

‘हामी बिचलित नभई अरु स्पातिलो बन्दै जानेछौं। हाम्रो वैज्ञानिक समाजवादमा जाने यात्रालाई कसैले रोक्न सक्दैन। जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

उनले एकीकृत जनक्रान्तिलाई सफल बनाएरै छाड्ने बताएका छन्। प्रहरीले बिहीबार बिहान राति विप्लवका दाजु चन्द्रबहादुरसहित २१ जना नेता-कार्यकर्तालाई दाङमा पक्राउ गरेको थियो।