सम्झौताको ८ महिना बित्योः डडेल्धुरामा जनता आवास कार्यक्रम अन्तर्गतका अधिकांश घर अलपत्र

सम्झौताको ८ महिना बित्योः डडेल्धुरामा जनता आवास कार्यक्रम अन्तर्गतका अधिकांश घर अलपत्र

धनगढी । सम्झौता भएको आठ महिना बितिसक्दासम्म डडेल्धुरामा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका अधिकांश घर अलपत्र परेका छन् । 

डडेल्धुरामा गत आर्थिक वर्षको जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका घरको किस्ता रकम आठ महिना बितिसक्दा पनि नआउँदा अलपत्र परेका छन् । लाभग्राहीले सम्झौता अनुसारको रकम नपाउँदा घर निर्माण हुन सकेका छैनन् । 

सम्झौता अनुसार प्रति घरका लागि ३ लाख ३२ हजार रुपैयाँ लाभग्राहीले पाउनुपर्ने छ । तर डडेल्धुरामा कतिय घरको निर्माण कार्य अन्तिम चरणमा पुग्दासम्म पनि लाभग्राहीले पहिलो किस्ता वापतको ८२ हजार रुपैयाँ मात्रै पाएको जनाएका छन् । त्यसमध्ये पनि किस्ता पाउनुपर्ने मानिसले अहिलेसम्म नपाएको रमेश कैनीले बताउनुभयो । 

पहिलो किस्ताले जमिन सम्याउन र जग सम्म निर्माण गर्न मात्रै पुगेको र पछि रकम नपाउँदा घर बस्ने सपना मात्रै रहेको कैनीको भनाई छ । कतिपय लाभग्राहीले पहिलो किस्ताको भन्दा बढी रकम खर्चेर घर निर्माण गरेका छन् । उहाँले किस्ताभन्दा बढी रकम छिमेकबाट सापटी व्याज तिर्नुपर्दा अर्को घाटा भइरहेको अमरगढी ६ का लाभग्राही परिवारको भनाई छ । 

घर निर्माणको अवस्था हेरेर एक वर्षसम्म पुरै रकम दिनुपर्ने भएपनि रकम नदिँदा आफूहरु मार्कामा परेको अमरगढी नगरपालिका ६ का राम ताम्राकारले गुनासो गर्नुभयो । पाउनुपर्ने रकम नपाउँदा निर्माणको काम बन्द गर्नु परेको उहाँको भनाई छ । 

संघीय सरकारबाट प्रदेश सरकारमा बजेट आएको भएपनि प्रदेश सरकारबाट रकम निकासा नहुँदा लाभग्राहीलाई बाँकी रकम दिन नसकेको सहरी विकास तथा भवन डिभिजन फिल्ड कार्यालय डडेल्धुराका सब इन्जीनियर कृष्णबहादुर रोकायाले बताउनु भएको छ ।