ढकनाघाटका स्थानीय महिला माछा संरक्षणमा जुट्दै

ढकनाघाटका स्थानीय महिला माछा संरक्षणमा जुट्दै

धनगढी । कञ्चनपुरको महाकाली नगरपालिका–९ ढकनाघाटका स्थानीय महिला माछा संरक्षणमा लागेका छन्  । 

महिलाहरूले माछा संरक्षण क्षेत्र घोषणा गरेर माछा संरक्षणमा जुटेका हुन् । नगरपालिकाको ९ र १० नम्बर वडालाई जोड्ने ढकनाघाट क्षेत्रको करीब एक किलोमिटर महाकाली नदीलाई माछा संरक्षण क्षेत्र घोषणा गरिएको छ । 

कालिका महिला सशक्तीकरण केन्द्रकी संयोजक पूर्णा कसेराले स्थानीय महिला माछा संरक्षणमा लागेको बताउनुभयो । उहाँले उक्त क्षेत्रमा छ महीना माछा संरक्षण गर्ने र छ महीना मार्ने समय निर्धारण गरिएको जानकारी दिनुभयो । 

निड्स नेपालको ट्रोसा परियोजना अन्र्तगत घोषणा गरिएको उक्त क्षेत्रमा स्थानीय महिलाले माछा संरक्षण गर्न त्यस क्षेत्रको उत्खनन रोेकेका छन् ।

ढकनाघाटकी शान्ता सुनारले माछा संरक्षण क्षेत्र घोषणा भएपछि धेरै सहज भएको बताउनुभयो । उहाँका अनुसार माछा मार्न नदीमा प्रयोग गरिने जथाभावी बम विष्फोट र विषादीको प्रयोग समेत नियन्त्रणमा आएको छ । 

टोलका धेरैजसो पुरुष रोजगारीका लागि भारत जाने गरेकाले महिला आफै माछा संरक्षणमा लागेका हुन् । निड्स ट्रोसा परियोजनाका संयोजक किसन खड्काले जलचर संरक्षण र महिला सशक्तीकरणका लागि उक्त योजना लागू गरिएको बताउनुभयो ।