उत्तर कोरियाली नेता किम जोङ–उन घोडा चढेर देशको सबैभन्दा अग्लो हिमालमा पुगेका छन् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले जारी गरेका तस्बिरमा नेता किमले पेक्टु हिमाल क्षेत्रमा सेतो घोडामा चढेर पुगेको देखिएको छ ।
किमले २ हजार ७५० मिटर अग्लो सो हिमाल चढेको यो पहिलोपटक होइन । कुनै ठूलो घोषणा गर्नुअघि उनी सो हिमाल चढ्ने गरेको पाइन्छ । त्यसैले उनले कुनै नयाँ घोषणा गर्ने तयारी गरेको पनि हुन सक्ने अनुमान गरिएको छ । उत्तर कोरियाको परिचयमा पेक्टु हिमालको विशेष स्थान छ । जसलाई किमको बुबाको जन्मस्थल मानिन्छ ।
केसीएनएले बुधबार जारी गरेको समाचारमा भनिएको छ, ‘पेक्टुको शिखरमा घोडामा बसेर उनले सो हिमाल जत्तिकै बलियो विश्वास र इच्छाले सबैभन्दा शक्तिशाली देश निर्माण गर्ने महान् कार्यका लागि गरेको कठिन संघर्षलाई गहिरो भावले मनन गरेका छन् ।’
सन् २०१७ मा उनले नयाँ वर्षको उपलक्ष्यमा दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्ध सुधार हुन सक्ने संकेत गर्नु केही हप्ताअगाडि पेक्टु हिमाल चढेका थिए । त्यसपछि उनले संसारलाई नै चकित बनाउँदै लामो समयदेखि बिग्रदो अवस्थामा रहेको दक्षिण कोरियासँगको सम्बन्ध सुधारको घोषणा गरेका थिए ।
किमले तीनपटक सो हिमाल चढेर र एकपटक सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपतिसँगै त्यहाँ भ्रमण गरेका थिए । केसीएनएले सन् २०१७ मा जारी गरेको तस्बिरमा किम कालो छालाको जुत्ता लगाएर शिखरमा उभिएको देखिएको थियो ।
एउटा सक्रिय ज्वालामुखी पेक्टुमा ४ हजार वर्षभन्दा अघि पहिलो कोरिया अधिराज्यका संस्थापक ड्यांगुनको जन्म भएको मानिन्छ । चीन र उत्तर कोरियाको सीमा क्षेत्रमा रहेको यो हिमाल उत्तर कोरियाली राजधानीबाट सयौं किलोमिटर टाढा पर्छ ।