पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन् : प्रधानमन्त्री ओली

पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराउनुभयो । उहाँले विकसित देशको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सँदै गएको बताउनुभयो ।

विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उहाँले गम्भीर असन्तुष्टि जाहेर गर्नुभयो । उहाँले भन्नुभयो, ‘सभ्यताका पर्खालहरु बाग्मतीमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन् । तिमीभन्दा माथि उठेर ।

यो एउटा ट्रेन्ड हो । किनभने अंग्रेजीको ‘यू’ लोभ लागेर, अर्काको एउटा ‘यू’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईँ भन्न गाह्रो लाग्यो । किनभने पैसावाला, डलरवाला, ‘यू’ वालाहरु ‘यू’ ले काम चलाउँछन् किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्‍या छ । सानालाई तिमी भन्ने ठूलालाई तपाईँ भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ ।’

दक्षिण एसियाका कतिपय देशहरुमा नागरिकको सार्वभौम सत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको, बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अबलम्बन गरी राजनितिक, आर्थिक अवस्था सुदृढ गर्दे विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको चर्चा पनि उहाँले गर्नुभयो ।