धनगढीको कैलपाल गोदाममा प्रहरीको छापा

धनगढीको कैलपाल गोदाममा प्रहरीको छापा

धनगढी : प्रहरीले धनगढी मेनरोडमा रहेको कैलपाल स्टोरको गोदाम बाट श्रोत नखुलेका खाद्य सामाग्री, दलहन तथा मिठाईका सामाग्री बरामद गरेको छ।

प्रहरीका अनुसार कैलपाल स्टोरको बसपार्कस्थित ओमसान्ति टोलमा रहेको गोदामबाट २ कार्टुन नरिवाल, ८० प्याकेट चकलेट, २५ किलोग्राम चिनी, २ बोरा राजमाको दाल, ३० पाकेट मिठा पान, ७ रोल नेवाड डोरी र ७ बोरा चाइनिज मसुरोको दाल बरामद गरिएको छ।

भन्सार छली गरी ल्याइएको सामाग्री केही महिलाले कैलपालको गोदाममा भित्र्याउँदै गरेको देखेपछि छानबिन गर्दा सो सामाग्री भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोलीले सामाग्री भित्र्याउँदै गरेको अवस्थामा फेला पारेको उनले बताए। भन्सार छली गरी सामाग्री ल्याउने महिलाको निगरानी गर्दै जाँदा कैलपालको गोदाममा सामग्री पु¥याएर महिला फरार भएको टाइगर टोलीका संयोजक लालबहादुर चन्दले बताए।

उनका अनुसार भन्सार छली गरेर ल्याउदै गरेको अवस्थामा ४ क्वीन्टल माछा समेत बरामद गरिएको छ। बरामद गरिएको सामग्री त्रिनगर भन्सार कार्यालयमा बुझाईने प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।