श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

धनगढी । कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२१ गते कुटपिटको विषयमा प्रहरीलाई २४ गते मात्रै थाहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । आफ्नै घरमा परपुरुषसँग भेटेपछि श्रीमतीलाई श्रीमानले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटाइबाट अचेत भेटिएकी थापालाई उपचारका लागि नेपालगन्ज पठाइएको थियो ।

उपचारपछि घर फर्किएकी थापालाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जानकीको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनका श्रीमान धिरेन्द्रलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

प्रहरीका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए । उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई प्रहरीले तारेकमा छाडेको छ । 

धिरेन्द्रलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता हुने प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।