बाजुराको साथीभाइ क्लबलाई भलिबल उपाधि

बाजुराको साथीभाइ क्लबलाई भलिबल उपाधि

बाजुराको साथीभाइ क्लबले दोस्रो पदम खत्री स्मृति तथा बडिमालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

बाजुराको त्रिवेणी नगरपालिका पैमास्थित पार्वती माविको मैदानमा भएको फाइनलमा साथीभाइ क्लबले बाजुराको बूढीगंगा नगरपालिका लाई ३–० को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । साथीभाइ २५–१२, २५–२३ र २९–२७ को सेटमा विजयी हुन सफल भयो ।

सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । बूढीगंगाले २५ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो । गणेश स्मृति अछामका खेलाडी बिन्दुराज खत्री प्रतियोगिताको उत्कृष्ट खेलाडी भए । उनले नगद ५ हजार पाए ।

प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले आफ्नो स्वर्गीय बुबा पदम खत्रीको स्मृतिमा हरेक दुई वर्षमा प्रतियोगिताको आयोजना गरिएको जानकारी गराए । तेस्रो संस्करण २०७८ मा हुनेछ ।

विजेता तथा उपविजेता टोलीलाई त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावल, उपमेयर राधिका सुनार र सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा स्वर्गीय पदम खत्रीका जेठा छोरा अमरसिंह खत्रीलगायतले पुरस्कृत गरे ।