टी २० क्रिकेट सिरीजमा नेदरल्याण्ड्समाथि नेपालको ऐतिहासिक जित, करण केसी नायक

टी २० क्रिकेट सिरीजमा नेदरल्याण्ड्समाथि नेपालको ऐतिहासिक जित, करण केसी नायक

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्समाथि ऐतिहासिक जित निकालेको छ । टी २० क्रिकेटमा नेदरल्याण्डविरुद्ध पहिलो जित निकाल्ने क्रममा नेपालले चार विकेटको जित दर्ता गराएको हो ।

१ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात मध्यम रह्यो । पहिलो विकेटका लागि पवन सराफ र पारस खड्का विच २५ रनको साझेदारी भएको थियो । तर पवन मात्र नौ रनमा आउट भएपछि नेपालले २५ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका आरिफ शेखपनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनीमात्र दुई रनमा पेभेलियन फर्किएपनि नेपालले २९ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र ऐरी पनि सस्तैमा आउट भए । नेपालको पारीमा राम्रो योगदान गरिरहेका कप्तान पारस खड्का ब्यक्तिगत ३३ रनमा आउट भएपछि नेपालले ७४ रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसपछि क्रिजमा आएका रोहित कुमार पौडेलपनि धेरैबेर टिक्न सकेनन् । नेपालको स्कोर ९३ रन हुदाँ उनी ५ रनमा आउट भए । जसका कारण नेपालले ९३ रनमा पाँचौ विकेट गुमायो ।

मध्यक्रमका खेलाडी विच राम्रो तालमेल हुन नसकेको खेलमा नेपालले एक सय ६ रन हुदाँ छैटौ विकेट खेर फाल्यो । विनोद भण्डारी दुई पटक जीवनदान पाउँदापनि २६ रनमा आउट भए ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको थियो । क्रिजमा करण केसी र सोमपाल कामी थिए । जसमा करणले अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बल डट खेले । तेस्रो बलमा चौका प्रहार गरेका करणले चौथो बलमा पनि चौका प्रहार गरे ।

ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३४ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान ४–४ विकेट लिएका थिए ।