दसैंमा मासु खाँदा के कुरामा ध्यान दिने ?

दसैंमा मासु खाँदा के कुरामा ध्यान दिने ?

दसैंमा मासु कसरी खाने र कस्तो मासु खाने जानकारी नहुँदा मानिसहरु बिरामी हुने गरेको चिकित्सकहरुले बताएका छन् । दसैंमा मासु र मासुजन्य वस्तुहरु खाँदा यसमा धेरै ध्यान पुर्याउनु पर्ने मुटु रोग विशेषज्ञ डा. भवानी मानन्धर बताउँछिन् ।

वरिष्ठ पेट रोग विशेषज्ञ डा. भुपेन्द्र बस्नेतले दसैंमा खानपानमा ध्यान नदिँदा बढी पेटका रोगको समस्या देखिने गरेको बताए । उनले भने, “अरु समयमा खानेकुरामा ध्यान दिने मानिसहरु दसैं हो के हुन्छ आज खाँदा भनेर खाने गर्नाले रोग बढाउने गर्छ ।” 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सिमित सापकोटाले दसैं भनेर अरुबेला स्वास्थ्य ख्याल गर्ने मानिसहरुले पनि दसैंमा बढी मासु खाने र नियमित व्यायामसमेत नगर्ने गरेको बताए । “रातो मासु, चिल्लो खानेकुरा खानु हुँदैन,” उनले भने, “चुरोट र सूर्तिजन्य पदार्थको सेवन गदै नगर्ने अर्को भनेको दसैंको बहानामा बढी चिल्लो तारेको खानेकुरा नखाने, नियमित व्यायाम गर्ने र फाइबरयुक्त खानेकुरा खानुपर्छ ।”

दसैंमा खुसी साट्न खाने र खुवाइने मासुका परिकारहरु सही तरिकाले खान जानिएन भने त्यो एकछिनको खुसी शरीरको लागि दुःखको समाचार बन्नसक्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पनुले बताए । मासुको सरसफाइमा ध्यान दिनुका साथै मासु पकाउँदा धेरै तेल तथा नुन प्रयोग नगरी पकाउन उनको सुझाव छ ।

मासु तथा मासुजन्य खाना दसैंमा बढी उपभोग हुने गर्छ तर, कस्तो रोगीले कस्तो मासु खाने र कस्तो मासु खानु हुन्न भन्नेबारे सबैलाई जानकारी नहुन पनि सक्छ । “दसैंमा रातो मासुभन्दा सेतो मासु खाँदा स्वास्थ्यमा समेत फाइदा हुन्छ,” उनले भनिन्,“मुटुरोगीहरुले अन्य मासुभन्दा माछा खानु फाइदाजनक हुन्छ ।”

रातो मासु भन्नाले खसी, राँगा, बंगुर आदिका मासु हुन् । यी मासुहरुमा बढी मात्रामा बोसो हुने चिकित्सकहरु बताउँछन् ।

रातो मासु बढी खानाले उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने, मधुमेह हुने, मुटुको धमनीहरु साँघुरो हुने, ह्दयघात, पक्षघात लगायतका समस्या बढाउने सम्भावना हुने मुटु रोग विशेषज्ञ  डा. यादवदेब भट्टले बताए । 

“सामान्यतया दसैंको समयमा रातो मासु बढी चिल्लो भएको मासु भएका स्वास्थ्यमा समस्या आउने गर्छ,” उनले भने, “रातो मासुभन्दा सेतो मासु भएका कुखुरा र माछाको सेवनले मुटु रोग निम्त्याउन नदिने हुँदा कुखुराको मासु खानु फाइदाजनक हुने हुन्छ ।” मासु एक कचौरा खाँदैछाँै भने त्योभन्दा बढी सागसब्जी खानुपर्ने  र फलफूल खानुपर्ने उनको सुझाव छ । 

मासु पोलेर खाँदा यसले क्यान्सरको जोखिम बढाउने हुँदा कुनैपनि मासु पोलेर नखान क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालको सुझाव छ ।