कृष्णबहादुर महरालाई पक्रन अदालतको अनुमति, आजै पक्राउ गर्ने प्रहरीको तयारी

कृष्णबहादुर महरालाई पक्रन अदालतको अनुमति, आजै पक्राउ गर्ने प्रहरीको तयारी

बलात्कार प्रयासकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ ।

रोशनी शाहीले अस्ति शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै निवर्तमान सभामुख महराविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

आज काठमाण्डौ जिल्ला अदालतका न्यायाधीस ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतको अनुमतिअनुसार अब आफूहरुले महरालाई पक्राउ गर्ने महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सहकुल थापाले जानकारी दिनुभयो । 

‘महानगरीय  प्रहरी परिसर या सम्बन्धीत वृत्तले महरालाई आजै पक्रन बाटो खुलेको छ’, थापाले भन्नुभयो । 

गएको आइतबार राति कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेर्नुभएको थियो । उहाँले आफूलाई महराले केही नगरेको र बाबुछोरीको जस्तै सम्बन्ध रहेको बताउनुभएको थियो ।

तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कैयौँ प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो । बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसक्नुभएको छ ।