चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार

चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी विशेष सुरक्षा योजना बनाएको छ ।

चाडपर्वका बेला विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैतीलगायतका घटना हुन नदिन प्रदेशभरी नै विशेष खालको सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । 

दशैँ तिहारका बेला विभिन्न वाहानामा सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या नौलो नभए पनि प्रहरीले भने विशेष सुरक्षा योजना लागू गरेको दाबी गरेको छ ।

कामको सिलसिलामा देश भित्र र बाहिर रहेकाहरु दशैँ मनाउन गनतव्यतिर फर्किने क्रम सुरु भएसँगै विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैतीजस्ता समस्या नरोकिएको जनगुनासा बढेपछि प्रहरीले सुरक्षा योजना तयार गरेको हो । 

प्रदेश प्रहरी कार्यालय दिपायलले ९ वटै जिल्लामा दशैँ तिहार लक्षित विशेष सुरक्षा योजना लागू गरिएको  जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारणीप्रसाद लम्सालले दशैँ तिहार र छठ पर्वमा सर्वसाधरणले सास्ती नपाउँन भनेर विशेष सुरक्षा योजना बनाइएको बताउनुभयो ।

नागरिकले हैरानी र सास्ती खेप्न नपरोस् भन्ने हेतुले भारतसँग सीमा जोडिएका जिल्लामा नागरिक सीमा सहायता कक्ष स्थापना गरिएको डीआईजी लम्सालले जानकारी दिनुभयो । उहाँले सीमामा दुःख पाएमा तत्काल सहायता कक्षमा सम्पर्क गरी समस्या राख्न सकिने जनाउनुभयो । 

दुई देशका सुरक्षा निकायका बीचमा पनि सीमामा अपराधिक गतिविधि हुन नदिनतर्फ सचेत रहँदै आपसी समन्वयमा काम गर्ने सहमति भएको उहाँको भनाइ छ । अन्य जिल्लाका बसपार्कलगायतका क्षेत्रमा पनि सहायता कक्ष स्थापना भएका छन् ।

प्रहरीले सीमा र बसपार्क क्षेत्रमा मात्र नभएर अन्य ठाउँमा पनि अनेक वाहानामा सर्वसाधारणले पाउन सक्ने सास्तीलाई मध्यनजर गर्दै यही अनुसारको रणनीति अपनाइएको दाबी गरेको छ । यातायात व्यवसायीहरुले बसमा क्षमताभन्दा बढि यात्रु चढाउने, निर्धारित दरभन्दा बढी भाडा लिने, क्यू फ्रीका नाममा यात्रुलाई सास्ती दिनेतर्फ पनि सचेत रहेको बताउँदै डीआइजी लम्सालले सम्भावित घटना भइहाले तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

उहाँले सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।