१७ फीट लामो अजिंगरले लखेटेपछि पर्यटकको भागाभाग

१७ फीट लामो अजिंगरले लखेटेपछि पर्यटकको भागाभाग

 दक्षिण अफ्रिका घुम्न गएका पर्यटकहरूलाई एउटा अजिंगरले निकै तर्साएको छ । 

अजंगको अजिंगर देखेपछि सफारीमा गएका पर्यटकहरू आआफ्नो कारमा हाम्फालेका थिए । उनीहरूले कारलाई रिभर्समा राखेर भाग्न खोजेको भए पनि अजिंगरले उनीहरूलाई लखेटिरह्यो । 

डर्बनमा भएको यो घटनामा अजिंगरलाई मानिसहरूको भीड मन परेको थिएन । 

 

घटनाको भिडियोमा एकजना क्यामराम्यानले एउटा डुंगामुनि अजिंगर देख्छन् ।

अजिंगर हेर्न जाँदा त्यसले आफूअगाडिको ल्यान्डरोभरमा नजर ताक्छ र क्यामराम्यानले उसको पुच्छर समात्न खोज्दा गाडीतर्फ दौडन्छ । 

अजिंगर त्यसपछि कार चढ्न खोज्छ । त्यो बोनेटमै पुगेपछि आत्तिएका चालकले गाडी रिभर्समा लान्छन् । अजिंगर कारबाट खस्छ तर गाडीलाई पछ्याइरहन्छ । 

नजिकैका गाडी र चालकहरू पनि भाग्ने कोशिश गर्छन् । अफ्रिकी रक पाइथनहरू विषालु हुँदैनन् तर घेराबन्दीमा परे भने निकै खतरनाक हुन्छन् । उनीहरूले आफ्ना तीखा दाँतले गहिरो घाउ बनाइदिन्छन् र कहिलेकाहीँ मानिसलाई बेरेर मारिदिन्छन् । 

उनीहरूले आफ्नो शिकारलाई सिंगै निलिदिन्छन् । कहिलेकाहीँ उनीहरूले बालबालिका निलेको खबर पनि आउँछ ।