चितुवाले नदीमा हाम्फालेर गोहीमाथि गर्‍यो आक्रमण

चितुवाले नदीमा हाम्फालेर गोहीमाथि गर्‍यो आक्रमण

 ब्राजिलको पान्तानालमा रुखमा बसिरहेको एक चितुवाले नदीमा रहेको सानो गोहीलाई आक्रमण गरेको खतरनाक भिडियो सार्वजनिक भएको छ। 

वन्यजन्तु फोटोग्राफर केभिन डूलीले चितुवा गोहीमाथि हाम्फालेको अनि त्यससँग भिडन्त गरेर त्यसलाई मारेको भिडियो खिचेका छन् । 

नदीमा पौडिरहेको गोहीलाई ताकेको ताक्यै गरेर चितुवाले आक्रमण गरेको डूलीको भनाइ छ । 

 

एक घन्टा प्रतीक्षा गरेपछि चितुवा अचानक गोहीमाथि जाइलागेको डूलीले बताए । गोही रुखतिर आउन लाग्दा चितुवाले आक्रमण गरेको थियो । 

उनले भने, ‘यो अद्भुत दृश्य हो । चितुवा पानीमा हाम्फाल्यो र गोहीसँग भिड्यो अनि अन्ततोगत्वा मार्‍यो । त्यसपछि उसले गोहीलाई घिसार्दै लग्यो अनि खायो ।’

उनीहरूबीच १० मिनटसम्म भिडन्त भएको थियो । घटना हुँदा आफू डुंगामा रहेको र त्यहीँबाट सबै दृश्य हेरेको उनको भनाइ छ । 

अमेरिकाको न्यु मेक्सिकोस्थित अल्बकर्केमा बस्ने केभिन डूलीले डुंगामा उक्त क्षेत्रको भ्रमण गर्दा दुर्लभ तस्वीर खिच्न सफल भएका हुन् ।