नामावली दाबी विरोधकाे समय सकियो, २६ गते अन्तिम नामावली

नामावली दाबी विरोधकाे समय सकियो, २६ गते अन्तिम नामावली

बैतडी : आगामी मंसिर उपनिर्वाचन हुने बैतडीका ३ वटा वडामा मतदाता नामावली दाबी विरोेध कार्यक्रम सम्पन्न भएको छ। दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा नामावली दाबी विरोध कार्य सम्पन्न भएको हो।  

दोगडाकेदार गाउँपालिका  ४ मा २७ जनाको मृत्यु भएको, १ जनाको बसाइँसराई र २ जनाको दोहोरो भएको आएको नाम हटाइएको बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए। यस्तै सुर्नया गाउँपालिका १ मा ११ जनाको मृत्यु भएको र पुर्चौडी नगरपालिका ४ मा ४ जनाको नाम सच्याइएको, १३ जनाको मृत्यु र ४ जनाको बसाइँसराइ गरिएको उनले बताए।

दाबी बिरोधबाट संकलन भएको नामावली आइतबार निर्वाचन आयोगमा पठाइने र असोज २६ गते अन्तिम नामावली प्रकाशन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। उक्त वडाहरूमा वडाअध्यक्षको पद रिक्त रहेकोले मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो।

यसैबीच बैतडीमा मंसिर १४ मा उपनिर्वाचन हुने ३ वटा वडामा हाल ४ हजार बढी मतदाता रहेका छन्।  निर्वाचन हुने दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा गरी जम्मा ४ हजार ३६७ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। जसमा दोगडाकेदार ४ मा १ हजार ८०८, सुर्नया १ मा ६१९ र पुर्चौडी ४ मा १ हजार ९४० मतदाता रहेका छन्।