भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि ३५ करोड विनियोजन

भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि ३५ करोड विनियोजन

धनगढी । भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । 

बोर्डले गत भदौ दोस्रो साता सार्वजनिक गरेको एक अर्ब ६३ करोड रुपैयाँको बजेटमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलाई १० करोडको एकमुष्ट बजेट उपलब्ध गराएको उल्लेख छ। भ्रमण वर्ष लक्षित प्रत्यक्ष रूपमा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमका लागि थप २५ करोड रुपैयाँ गरी कुल ३५ करोड विनियोजन गरेको छ । 

बोर्डले नेपाल भ्रमण वर्षको सचिवालयलाई उपलब्ध गराएको यस्तो रकमबाट बोर्डले नै सन् २०२० मा २० लाख पर्यटक भित्राउन आवश्यक साथ र सहयोग गर्ने गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न उक्त बजेट विनियोजन गरेको उल्लेख छ ।

बोर्डले पर्यटन प्रवद्र्धनको काम गर्ने भएकाले भ्रमण वर्षको लक्ष्य पूरा गर्ने गरी आवश्यक कार्यक्रम तय गरेको र सोहीअनुसार अन्य पर्यटन प्रवद्र्धनको कार्यक्रममा पनि भ्रमण वर्षलाई नै दृष्टिगत गरिने उल्लेख छ । 

पर्यटन बोर्डको बजेटमा एक प्रदेश एक गन्तव्यको अवधारणा अगाडि सारिएको छ। बोर्डले हरेक प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा उपयुक्त एक गन्तव्य छनोट गर्ने र पूर्वाधारसहितको प्रवद्र्धनका कार्यक्रम गर्ने भएको छ । 

बोर्डका अनुसार तीन वर्ष्भित्र सम्पन्न गर्ने गरी सबै प्रदेशमा एकएक वटा नयाँ गन्तव्यको पूर्वाधार बनाउने भएको छ। यस्तो गन्तव्यको विकासका लागि एक करोडदेखि तीन करोड रुपैयाँसम्मको बजेट हरेक आर्थिक वर्ष विनियोजन हुनेछ । यसको कार्यान्वयन कार्य्विधि दुई महिनाभित्र बनाइसक्ने उल्लेख छ ।  

साथै बोर्डले हरेक प्रदेशका पर्यटन प्रवद्र्धन गर्न करिब दुई करोड रुपैयाँका दरले रकम निकासासमेत गरेको छ । एउटा प्रदेशलाई एक पर्यटन गन्तव्यको अवधारणा अनुसार उक्त रकम वितरण गरेको उल्लेख छ ।

उक्त अवधारणाअन्तर्गत प्रत्येक गन्तव्यका उक्त रकम विनियोजन गरिएको छ । यसलाई अन्य निकायसमेत सहभागितामा कार्यान्वयन गर्ने बोर्डको लक्ष्य छ ।