नगद तथा गरगहना चोरी गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान

नगद तथा गरगहना चोरी गर्ने ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान

धनगढी । जिल्ला अदालत कैलालीले भारतका विभिन्न स्थानमा नगद तथा गरगहना चोरी गर्ने समूहका ६ जनालाई पूर्वपक्षका लागि कारागार चलान गरेको छ । 

डोटीको के.आई.सिंह गाउँपालिका–२ तिखातर घरभई हाल धनगढी उप महानगरपालिका वडा नं. २ मा बस्दै आएका आपराधिक समूहको नाइके ३३ वर्षीय शङ्कर भुल, गोदावरी नगरपालिका वडा नं. ३ मालाखेतीकी २२ वर्षीया पूजा दास भनिने पार्वतीकुमारी बादी, डडेल्धुराको आलिताल गाउँपालिका–५ भित्रीसैनका २२ वर्षीय वीरेन्द्र सार्की, धनगढी उप–महानगरपालिका वडा नं. ११ बेलाका ३३ वर्षीय भक्त राज विक, डोटी के.आई.सिंह गाउँपालिका–२ लेककोटका २६ वर्षीय सोनु भुल र बर्दिया राजापुर नगरपालिका वडा नं. १० का २२ वर्षीया खगिसरा खत्रीलाई कारागार चलान गरिएको कैलाली प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार गत जेठ २६ गते भारतको अशोक बिहारमा विवेक अग्रवालको घरमा भारतीय रुपैयाँ दुई करोड बराबरको धनमाल चोरी गरेको भन्ने भारतीय राजदूतावास मार्फत जानकारी प्राप्त भएको थियो । 

जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटाइ खोजी गर्दै जाँदा ६ जनालाई नगद तथा गरगहना समेत पक्राउ गरी अदालत समक्ष पेस गरेको उहाँले बताउनुभयो । 

अदालतले शुक्रवार कारागार चलानको आदेश दिएपछि उनीहरूलाई कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनु भएको छ ।