सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखनका घटना बढ्दै

सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखनका घटना बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखन तथा ओसार पसारका घटना बढ्दै गएका छन् । 

संघीय प्रहरी ईकाई कार्यालय धनगढीको तथ्यांकअनुसार सुदूरपश्चिममा तीन वर्षको अवधिमा मानव बेचबिखन तथा ओसार पसारका ८६ वटा मुद्दा दर्ता भएका छन् । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा १७ वटा मानव बेचबिखन तथा ओसार पोसारका मुद्दा दर्ता भएकोमा एक वर्षपछि आर्थिक वर्ष २०७४/७५ मा मुद्दा दर्ता हुनेक्रम झण्डै दोब्बर अर्थात् ३२ पुगेको छ । 

आर्थिक वर्ष २०७५/७६ मा ३७ वटा मानव बेचबिखन तथा ओसार पसारका मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको हालसम्म सुदूरपश्चिममा तीनवटा मुद्दा दर्ता भएको संघीय प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेश कैलालीका प्रहरी निरीक्षक कर्ण बमले बताउनुभयो । 

मानव बेचबिखन तथा ओसार पसारका घटना सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा भएको देखिएको छ । कञ्चनपुरमा तीन वर्षको अवधिमा ३९ वटा मुद्दा दर्ता भएको तथ्यांक छ । त्यसपछि दोस्रोमा कैलालीमा ३३ वटा मानव बेचबिखन तथा ओसार पसारका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक बमले बताउनु भयो ।  

देशभर वर्षे्िन १२ हजार मानिस बेचबिखन तथा ओसार पसारमा पर्ने गरेको मुख्यन्यायाधिवक्ताको कार्यालयका उपमहान्याधिवक्ता कटिकराज मुडभरीले बताउनुभयो । देहव्यापार, घरेलु कामदार, अंग प्रत्यारोपण, बधुवा मजदुरलगायतका रुपमा मानव बेचबिखन तथा ओसार पसार भइरहेको उहाको भनाइ छ । 

मानव बेचबिखन तथा ओसार पसारमा कसको कहाँबाट संलग्नता भइरहेको छ भनेर थाहा पाउन नै चुनौतिको विषय रहेको उहाले बताउनुभयो ।

प्रदेश सरकार मानव बेचबिखन तथा ओसार पसारलगायतका गलत क्रियाकलापहरुलाई नियन्त्रणका लागि लाग्ने सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले बताउनुभयो । 

सरकारले जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रणका लागि समिति बनाएको छ । तर, सो समिति प्रभावकारी नबन्दा मानव तस्करी मौलाउँदै गएको छ ।