आन्तरिक उडानका सबै विमानमा विपन्न वर्गका जेष्ठ नागरिकलाई ५० प्रतिशत छूट

आन्तरिक उडानका सबै विमानमा विपन्न वर्गका जेष्ठ नागरिकलाई ५० प्रतिशत छूट

धनगढी । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । 

वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने निर्णय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने संघका अध्यक्ष क्या. रामेश्वर थापाले जानकारी दिनुभयो । 

साना विमानस्थलमा भने प्रतिदिन प्रतिसेक्टर १ जनाका लागि मात्र यस्तो सुविधा उपलब्ध हुने भएको छ । छूट पाउनको लागि अब जेष्ठ नागरिकले हवाई कम्पनीको काउन्टर मै उपस्थित भई आफू विपन्न भएको जानकारी गर्नुपर्ने शर्त कम्पनीहरुले राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छूटको घोषणा गर्नुभएको थियो । उक्त घोषणालाई शुरुमा विरोध गरेका वायुसेवा कम्पनीले अहिले भने शर्तसहित समर्थन गरेका छन् ।

यसअघि नेपाल एयरलाइन्सले सबै आन्तरिक उडानमा ५० प्रतिशत छूटको घोषणा गरेको थियो । श्री एयरले समेत ८५ वर्ष भन्दा माथिका नागरिकलाई मात्र ५ सय र ७५ वर्षभन्दा माथिका २ जनालाई एक उडानमा छूट घोषणा गरेको थियो ।