चोरले भगवानलाई चिट्ठी लेखेर दानपेटीको पैसा उडाइदियो

चोरले भगवानलाई चिट्ठी लेखेर दानपेटीको पैसा उडाइदियो

भारतको मध्य प्रदेशको बैतुल जिल्लामा चोरीको अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँको एक मन्दिरमा चोरले भगवानको मूर्तिका अगाडि चिट्ठी राखेर मन्दिरको दानपेटी फुटायो अनि त्यहाँको नगद चोरेर चम्पत भयो । 

 

सिद्धेश्वर हनुमानजीको मन्दिरमा यो घटना भएको हो । चोरले चिट्ठीमा आफ्ना सबै अपराध माफ गर्न भनेको छ । साह्रै तनावमा परेपछि अपराध गर्न बाध्य भएको चोरको भनाइ छ । चिट्ठी दानपेटीनजिकै राखिएको छ । बिहान श्रद्धालुहरू मन्दिर पुग्दा पट खुलेको थियो । अनि दानपेटी फुटेको थियो । त्यहाँ पैसाको साटो चिट्ठी थियो र त्यसमा चोरले भगवानलाई सम्बोधन गरेको थियो । 

चोरीको घटना भएपछि गाउँलेहरू रिसाएका छन् । दानपेटी विगत तीन वर्षदेखि नखोलिएको बताइएको छ । पेटीमा लगभग ८० हजार रुपैयाँ रहेको बताइएको छ । प्रहरीले चोरको खोजी शुरू गरिसकेको छ । 

चोरको चिट्ठीमा यस्तो लेखिएको छ, ‘मैले अहिलेसम्म गरेको अपराधका लागि क्षमा माग्छु । आजदेखि म कहिल्यै चोरी गर्दिनँ । सबै कुरा ठीक भएमा म तपाईंको कुनै पनि मन्दिरमा गएर ८०० रुपैयाँ दान गर्नेछु ।’