कैलालीको गोदावरी नगरपालिकाका महिलाहरु जडीबुटी खेतीमा आकर्षित बन्दै

कैलालीको गोदावरी नगरपालिकाका महिलाहरु जडीबुटी खेतीमा आकर्षित बन्दै

धनगढी । कैलालीको गोदावरी नगरपालिका १ अत्तरियामा रहेको सुरक्षा सामुदायिक वनका महिलाहरु सामुहिक जडीबुटी खेतीमा जुटेका छन । 

१५ जनाको समूह बनाएर महिलाहरुले बिभिन्न प्रकारका जडीबुटी खेती र जडीबुटीको नर्सरी उत्पादन गर्दै आईरहेका हुन । महिलाहरुले करिव १ बिगा जग्गामा सामुहिक रुपमा कुरीलो, सर्पगन्धा, मेन्था, क्यामोमाईलको खेती गर्दै आएका छन भने जडीबुटीको नर्सरीमा महिलाहरुले कुरीलो, सर्पगन्धा, रक्तचन्दन लगायतका जडीबुटीका बिरुवा उत्पादन गर्दै आएका छन ।

सुरक्षा महिला सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले सामुदायिक वनका उपभोक्ता मध्ये १५ जनाको समुह बनाई सामुहिक जडीबुटी खेतीमा लागेको बताउनुभयो । उहाँले बिगत ३ बर्षदेखि सामुदायिक वन क्षेत्रमा जडीबुटी खेती गर्दै आएको बताउनुभयो । महिला मात्रै सहभागी भएको वनबाट महिलाहरु घाँस दाउरामा मात्रै सिमित नभई अतिरिक्त आम्दानी गर्नको लागि वनमा जडीबुटी खेती बिस्तार गरेको अध्ययक्ष भण्डारीले बताउनुभयो ।

सामुहिक रुपमा जडीबुटी खेती गरेका महिलाहरुले बिगत २ बर्ष देखि जडीबुटी खेती संगै आधुनिक तरिकाबाट जडीबुटीका बिरुवा समेत उत्पादन गर्दै आएका छन । वातावरण अनुकुल संचालन गर्न सकिने हाईटेक नर्सरीमा महिलाहरुले कुरीलो, सर्पगन्धा, लगायतका बिरुवा उत्पादन गर्दै आएका छन । 

२ बर्ष देखि कुरीलो नर्सरी उत्पादन गर्दै आईरहेका महिलाहरुले गत बर्ष ५० हजार कुरीलोको बिरुवा उत्पादन गरेको सुरक्षा महिला सामुदायीक वनकी उपाध्यक्ष इ्रन्द्रा बोहराले बताउनुभयो ।