"फ्ल्याटल्याण्ड फुटसल" दोस्रो बर्षमा

"फ्ल्याटल्याण्ड फुटसल" दोस्रो बर्षमा

धनगढी । फुटबलको सानो रुप अर्थात ‘फुटसल’ हो ।  धनगढीमा संचालित फ्ल्याटल्याण्ड फुटसलले आफ्नो पहिलो बार्षीक उत्सव मनाएको छ । स्थापनाको छोटो समयमा नै फुटसल खेल र खेलसंग सम्बन्धीत विभिन्न गतिविधिहरु संचालन गर्दै आएको फुटसल आज बाट दोस्रो बर्षमा प्रवेश गरेको छ । 


धनगढीका केही सृजनशिल युवाहरुले संचालन गरेको फुटसल आज भोली धनगढीका युवा तथा शारिरिक व्यायाम गर्न चाहानेहरुका लागी लोकप्रिय खेल बनेको छ ।

बैकंर, पत्रकार, व्यवसायी तथा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तीहरुका लागी फुटसल गजब्बको विकल्प बन्दै गएको देखिन्छ ।

फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाह मानिसहरुको व्यस्त दैनिकीले आफ्नो शारिरिक फीटनेसमा ख्याल गर्न नसकिरहेका हरुका लागी फुटसल एकदमै उपयुक्त उपायहुने बताउनुहुन्छ । 

फुटसलको इतिहास र नियम

फुटसल भनेको ‘मिनी’ फुटबल हो । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् ।

यो सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ ।

गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको होे ।

फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गरेको पाइन्छ ।