पानीमुनि गएर बिहेको प्रस्ताव राख्न खोज्दा ज्यानै गयो

पानीमुनि गएर बिहेको प्रस्ताव राख्न खोज्दा ज्यानै गयो

 एकजना युवा आफ्नी प्रेमिकालाई पानीमुनि गएर विवाहको प्रस्ताव राख्न चाहन्थे। यो कुरा उनको जिन्दगीका लागि सबैभन्दा अविस्मरणीय बन्नेवाला पनि थियो। तर केही सेकेन्डमै  सबै कुरा बदलियो।  प्रेमिकालाई विवाहको प्रस्ताव राख्न पानीमुनि गएको अवस्थामा दुर्घटना हुँदा अमेरिकाबाट छुट्टीको समयमा घुम्न तान्जानिया पुगेका युवकको ज्यान गएको हो। 

स्टिव वेबर नामका यी युवक र उनकी प्रेमिक केनेशा एन्टोइन तान्जानियको पेम्पा द्वीपबाट केही परको मान्टा रिसोर्टस्थित एक जलमग्न क्याबिनमा बसेका थिए।  यस दुर्घटनापछि सार्वजनिक भएको भिडियो फुटेजमा युवकले पानीमुनि गएर आफ्नी प्रेमिकासँग बिहेका लागि प्रस्ताव राखिरहेका छन्।

वेबरकी प्रेमिका केनेशाले फेसबुक पोस्टको माध्यमको वेबर मृत्यु समाचार सार्वजनिक गर्दै लेखेकी छन्, 'उनी त्यो गहिराइबाट कहिल्यै पनि बाहिर आउन पाएनन्।' अर्कातिर मान्टा रिसोर्टले पनि बीबीसीसँग यो घटना धेरै दुर्भाग्यपूर्ण भएको जनाएको छ। 'उनीहरू बिहीबार दिउँसो आफ्नो कोठाबाट बाहिर सहयोगी नलिइ पानीमा गोताखोरीका लागि गए। त्यहीकारण उनी डुब्न पुगे।' रिसोर्टले एक विज्ञप्ति जारी गर्दै यो घटना धेरै दु:खपूर्ण भएको प्रतिक्रिया दिएको छ। 'यो घटनाबारे बताउँदा हामीलाई धेरै दु:ख लागेको छ', रिसोर्टको तर्फबाट भनिएको छ, '१९ सेप्टेम्बरमा मान्टा रिसोर्टमा भएको यो दुर्घटनाले स्तब्ध बनाएको छ।' रिसोर्टका  सीईओ म्याथ्यु ससले अगाडि भनेका छन्, 'वेबरको मृत्युबाट हामी सबैको मन मुटु भित्रैदेखि हल्लिएको छ।' यी प्रेमी जोडीले यस रिसोर्टमाचार रातका लागि अन्डरवाटर रूम बुक गरेका थिए। जुन समुद्री किनारबाट करिब २५० मिटरको दुरीमा छ।

यस कोठाको एक रातको भाडा मात्रै १७०० डलर रहेको छ । यसको कोठा पानीमा करिब १० मिटर अर्थात् ३२ फिट गहराईमा रहेको छ।  यो रिसोर्टमा उनीहरूको तेस्रो दिन थियो। वेबर लुसियानाका बासिन्दा थिए।

उनले प्रेमिकालाई प्रस्ताव राख्न पानीमा गोता लगाएका थिए। उनले आँखामा पानी भित्र प्रयोग गरिने चश्मा लगाइरहेका थिए। साथमा फ्लिपर्स पनि साथमै थियो। उनी पानीमा गएर कोठा बाहिरको शिशा नजिकै एक नोट लिएर रहेका थिए। उनकी प्रेमिका त्यतै हेरिरहेकी थिइन्। प्लास्टिकको पारदर्शी झोलामा राखिएको त्यो नोटमा 'मलाई तिमीसँग जोडिएका हरेक चिजसँग एकदमै धेरै माया लाग्छ। र, यो बताउनका लागि म श्वास रोकेर अब रहिरहन सक्दिनँ।

तर म तिमीसँग जोडिएका ती हरेक कुरासँग माया गर्छु, उसका लागि मेरो माया हरेक दिन बढ्दै  बढ्दै गइरहेको छ।' त्यस भिडियोमा केही बेरपछि उनी आफ्नी प्रेमिकालाई दिने औंठी सर्टबाट निकालिरहेका देख्न सकिन्छ। तर त्यसपछि उक्त भिडियो बन्द हुन पुग्छ।  रिसोर्टका सीईओ ससका अनुसार उनका कर्मचारीले पानीमा भएको गडबडीबारे तुरून्तै सूचना दिएका थिए तर उद्धारका लागि उनीहरू त्यहाँ पुग्दा केही गर्न सकिएन।  फेसबुकमा वेबरकी प्रेमिकाले लेखे अनुसार वेबर अब कहिल्यै उनको प्रस्तावको जवाफ सुन्न सक्ने छैनन्। जुन लाखौँ पटक सोध्दा पनि उत्तर एउटै हुनेछ : हो। 

'हामीले अब कहिल्यै आफ्नो जिन्दगीको नयाँ सुरूवातको उत्सव मनाउन पाएनौँ', उनले लेखेकी छन्, 'जुन दिन हाम्रो जीवनकै सुन्दर दिन हुँदैथियो, त्यही दिन सबैभन्दा नराम्रो दिनमा परिणत भयो।' अमेरिकी विदेश मन्त्रालयले पनि तान्जानियमा आफ्ना एकजन नागरिकको यस दुर्घटनामा ज्यान गएको जानकारी प्राप्त भएको जनाएको छ।