बैतडीसहित सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेनन्

बैतडीसहित सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेनन्

धनगढी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अझै सुपथ मूल्यपसल सञ्चालनमा आउन सकेका छैनन् । 

विगतका वर्षहरूमा  दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्यपसल सञ्चालन हुँदै आएको थियो । तर  सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढीबाहेक अन्य बजार तथा जिल्लामा अझैं खुल्न नसकेका साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालयका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी दिनुभयो । 

साल्ट ट्रेडिङ कर्पोरेशनले हाल अञ्चल कार्यालय धनगढीमा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कर्पोरेशनले विगतका वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर,बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र  बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो। यस बर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भएपनि २ हप्तासम्म पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अझै आउन सकेका छैनन् ।  

दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको थियो । उपभोक्तालाई सहुलियत मूल्यमा बस्तु बिक्री गर्ने उद्देश्यसहित सञ्चालनमा आउने सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा समस्या भएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेशनका सूचना अधिकारी जोशीका अनुसार ढुवानी समस्याका कारण अञ्चल कार्यालय धनगढीबाहेक अन्य ठाउँमा तत्काल सुपथ मूल्य पसल सञ्चालन ल्याउन नसकिएको बताउनुभयो ।