कालिकोटमा सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नेको संख्या बढ्यो

कालिकोटमा सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नेको संख्या बढ्यो

 जिल्लामा पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बृद्धि भएको छ। जिल्लाका ९ वटै स्थानीय तहले गोठमा सुत्केरी मुक्त बनाउन विभिन्न अभियान संचालन गर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो। 

जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी दिपबहादुर रावले पछिल्ला वर्षमा अस्पतालमा सुत्केरी हुने आउने महिलाको संख्यामा वृद्धि भएको बताए। उनका अनुसार जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७४∕०७५ मा ३ सय ५६ जना महिलाहरुले प्रसूति सेव दिएका थिए। आर्थिक वर्ष २०७५∕०७६ मा उक्त संख्या बढेर ४ सय ७७ जनाले प्रसूति सेवा लिएका छन्। 

जिल्लाको खाँडाचक्र नगरपालिकाको दाँहाँ र पाखा स्वास्थ्य चौकीमा पनि स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिनेको संख्या बढेको छ। खाँडाचक्र नगरपालिका स्वास्थ्य संयोजक रविन्द्र सेजुवालका अनुसार खाँडाचक्र नगरको दाँहा र पाखामा मात्र आर्थिक बर्ष २०७५∕०७६ मा २ सय ५ महिलाले स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिएका छन्। चालु आर्थिक वर्षको दुई महिनामा ४९ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्। 

जिल्लाको रास्कोट नगरपालिकामा हरेक वर्ष स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिने महिलाको संख्यामा वृद्धि भएको छ। रास्कोट नगरपालिका स्वास्थ्य संयोजक हंशराज बरालका अनुसार आर्थिक वर्ष २०७४∕०७५ मा रास्कोट नगरपालिकाका तीन वटा स्वास्थ्य संस्थामा ३ सय महिलाहरु स्वास्थ्य संस्थामै सुत्केरी भए भने आर्थिक वर्ष २०७५∕०७६ मा ३ सय ५० जनाले स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्। 

उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ८९ महिलाले स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिइसकेका छन्। रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले नगरको वडा नम्बर ९ देखी घरमा सुत्केरी मुक्त वडा बनाउने अभियान थालेको बताए।

पलाँता गाँउपालिका स्वास्थ्य संयोजक हिमाल संज्यालका अनुसार गाँउपालिकामा आर्थिक वर्ष २०७४∕०७५ मा १ सय ७५ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए। आर्थिक वर्ष २०७५∕०७६ मा २ सय ६४ जना महिलाले स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिए। 

उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ३४ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्। पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले चालु आर्थिक वर्षदेखी घरमा सुत्केरी मुक्त गाँउपालिका बनाउनका लागि महिला स्वास्थ्य स्वयमसेवीकालाई सक्रिय बनाउन मासिक ६ हजार दिने गरेको बताए। 

सान्नीत्रिवेणी गाउँपालिका स्वास्थ्य संयोजक मिनबहादुर बिष्टका अनुसार आर्थिक वर्ष २०७४∕०७५ मा २ सय १४ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भए। त्यसैगरी  आर्थिक वर्ष २०७५∕०७६ मा २ सय ४५ महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डा.भिष्म पोख्रेलले अस्पतालमा डाक्टरको अभाव रहेको बताए।

उनले जिल्ला अस्पतालमा कम्तीमा २ जना एमजीडीपीसहित  ६ जना डाक्टर हुनुपर्ने भएपनि हाल कार्यरत चारजना डाक्टमा २ जनाको करार अवधि सकिन लागेको र दुई जना डाक्टरले सेवा दिनुपर्ने अवस्था आएको बताए। 

जिल्ला अस्पतालमा सेवाग्राहीको संख्या बढेदै गएको छ  भने डाक्टरको अभाव पनि कायम छ। पटकपटक प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा पटकपटक डाक्टरहरुको माग गरे पनि डाक्टर पुग्न सकेका छैनन्।