सन्तानको दीर्घायुका लागि जितिया व्रत

सन्तानको दीर्घायुका लागि जितिया  व्रत

 थुक पनि ननिलीकन ३६ घण्टासम्म निराहार व्रत बसेर मिथिलाञ्चलमा आमाहरुले जितिया व्रत मनाइरहेका छन्। सन्तानको दिर्घायुको लागि गरिने जितीया व्रत शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ। यो व्रत आइतबार दिउँसो ३ बजेसम्म चल्ने छ। तिथिको हेरफेरका कारण व्रतको समय लम्बिएको व्रतालुहरुले बताएका छन्।

आश्विन कृष्ण सप्तमी तिथिका दिन वर्तालुहरुले स्नान गरी चोखो भइ बस्छन्। अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु गर्छन्। नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ। 

सप्तमी तिथिको उत्तरार्धमा वर्तालु महिलाले ओङ्गठन गर्छन्। वर्त बस्नुअघि रात्रिको समयमा दही, च्यूरा, मिठाइलगायतका सामग्री भोजनको रुपमा ग्रहण गरिन्छ। त्यसलाई ‘ओङ्गठन’ भनिएको हो। ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन रहेको छ। ओङ्गठन सन्दर्भमा रहेको एउटा उखान मिथिलामा प्रसिद्ध छ ‘जितीया पावैन बड भारी, धियापुताके ठोकी सुतेलौ अपने खेलौ भरी थारि’। 

सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीघार्युका लागि माता जिर्मूतवाहन देउताको कठोर उपवास गर्ने गरिएको व्रतालुहरूले बताएका छन्। यस सम्बन्धमा भविष्य पुराणमा अराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनी राख्नुभएको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ व्रत बसेको खण्डमा सन्तानको अकाल मृत्यु नहुने भनी बताएका छन्।

यो वर्तका लागि कुशको जिर्मूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ। त्यसपछि, आफ्नै आगनमा सानो पोखरीको आकृति निर्माण गरेर डिलमा पाकरी रुखको हाँगा गाडेर सो हाँगामा चिल र स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाएका भन्ने जनविश्वास रहेको छ।

भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिमूर्तवाहनमाथि महादेवको असिम कृपा थियो। महादेवले नै जिर्मूतवाहनलाई बरदान दिएकालेले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ।

हिन्दूधर्ममा विभिन्न जनावर र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ। यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको छ।
वर्त बसेको दिनमा वर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अर्घ अर्पन गर्छन्। त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ। सो डालीमा फलफूल, मिठाइ र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ। पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ।

उपवासको दिन वर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ। कथा श्रवण गरेर घर फर्केपछि आगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गरिन्छ।