एउटा बालकको कारण दुई परिवारमा लफडा, बालक फिर्ता लिन डिएनए परिक्षण

एउटा बालकको कारण दुई परिवारमा लफडा, बालक फिर्ता लिन डिएनए परिक्षण

 एउटा बालकको कारण रौतहटमा बिगत १ महिनादेखि २ परिवारमा लफडा चलेको छ । चन्द्रपुर नगरपालिका वाड नं. १० बक्तौरा टोल बस्ने चन्देश्वर बैठाको हराएको छोरा भेटिएपछि पाउनु पर्ने दाबी छ भने आफुले पालेको बालक डिएनए गराएर मात्रै लैजान कटहरिया नगरपालिका वाड नं. ७ बगही निवासी राजकिशोर महतो बिच लफडा भएको हो ।

गत २०७५ जेठ ३१ गते आफनै घरबाट हराएका ६ बर्षीय छोरा अबिनाश बैठालाई लिनको लागि बाबु चन्देश्वर बैठालाई प्रशासनले डिएनए परिक्षण गरेर ल्याउनको लागि बताएको छ । बेपत्ता छोरा अबिनाशलाई कटहरिया नगरपालिका बगही गाउँका राजकिशोर बैठाले भेटाएर पालेका थिए । बगहीमा आफनो छोरा भएको पत्ता लागेपछि छोरा लिन गएपछि राजकिशोर महतोले ती बालकलाई प्रहरीको महिला सेल गरुडामा बुझाएका थिए ।

आफनो २ छोरी र २ छोरा गरी चार सन्तानका बाबु बैठा हराएको कान्छो छोरो लिन प्रमाण सहित जादा बिभिन्न बाहनामा आफुलाई प्रहरीले दुःख दिएको बालकका बाबु चन्देश्वर बैठाले बताए । बच्चा लिन बच्चाको जन्मदर्ता, वडाले गरेको नाता सिफारिस, बिद्यालयलले गरेको सिफारिस तथा आफनो सन्तानसंग भएको फोटो समेत पेश गर्दा पनि प्रहरीले आफनो बच्चा नदिएको बाबु बैठाले बताए ।

अहिले आएर प्रमुख जिल्ला अधिकारी किरण थापाले डिएनए परिक्षण गराएर मात्रै बच्चा लैजान भनेपछि झन दुखित भएको उनले गुनासो गरेका छन् । आफुले ति बालक हराएपछि करिब २०७५ असार ७ गते इलाका प्रहरी कार्यालयमा फोटोसहित खोजतलाश गरिदिन गरेको निबेदनमा समेत पेश गर्दा पनि बच्चा आफनो बच्चा नपाउनु दुखद भएको उनले बताए ।

यता प्रमुख जिल्ला अधिकारी किरण थापाले शंका उब्जिएको कारण डिएनए परिक्षण गराएर मात्रै बच्चा लैजानको लागि भनेको बताएका छन् । बच्चाले आफन्तलाई नै नचिनेको दाबी गदै प्रमुख जिल्ला अधिकारी थापाले बच्चा र बाबुको डिएनए परिक्षण गराएर मात्रै दिँदा उपयुक्त हुने बताएका छन् ।

यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले बच्चाले आमा नै नचिनेको कारण शंका उठेको बताए । बाबुले स-प्रमाण कागज पेश गर्दा पनि यसरी पिडित परिवारलाई नै सास्ती दिनु राम्रो नभएको बालकका ठुलो बुबा संजय बैठाले बताएका छन् । जनप्रतिनिधिहरुले समेत बच्चा चन्देश्वर बैठाकै भएको बताउँदा समेत प्रहरी प्रशासनले बच्चा नदिनु दुखद पक्ष भएको स्थानिय युवा मुकेश गुप्ताले उक्त पत्रकार सम्मेलनमा बताएका छन् ।

गत बर्ष बालक हराएको जाहेरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा दिएको पत्रकार समेत ति बालकको फोटो रहेको बताउँदै गुप्ताले अनुसन्धानको नाममा प्रहरीले गरिबलाई सास्ती दिएको गुप्ताले बताए । यता बच्चा पालेका कटहरिया नगरपालिका वाड नं. ७ बगहीका राजकिशोर महतोले डिएनए परिक्षण गराएर प्रमाणित भए आफु खुशी भएर दिन तयार रहेको बताएका छन् ।

बिवाह गरेको १२ बर्ष पुग्दा समेत सन्तान नभएको बताउँदै महतोले बालकलाइई आफनो छोराछोरी भन्दा पनि बढी माया गरेर पालन पोषण गरेको उनले बताए । अहिले पनि ति बालकलाई दैनिक खानेकुरा लिएर महिला सेल गरुडामा जाने गरेको महतो बताउँछन् । करिब १५ दिनदेखि ति बालक अहिले महिला सेल गरुडामा छन् ।