साफ यू–१८ च्याम्पियनसिप: नेपाल माल्दिभ्ससँग बराबरीमा

साफ यू–१८ च्याम्पियनसिप: नेपाल माल्दिभ्ससँग बराबरीमा

साबिक विजेता नेपाल साफ यू–१८ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा बराबरीमा रोकिएको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शुक्रबार भएको समूह ‘ए’को पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । नेपालले अब आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

घरेलु मैदानमा नेपालले १३औं मिनेटमा नै गोल खान पुगेको थियो । माल्दिभ्सका कप्तान हसन नजिमले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अगाडि लगाएका थिए । नेपालका रोशन दोङले कप्तान हसनलाई बक्सभित्र फल गरेपछि माल्दिभ्सले पेनाल्टी पाएको थियो ।

उसले त्यसको सदुपयोग ग¥यो । पहिलो हाफमा नै गोल फर्काउने नेपालले गरेको प्रयास विफल भएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका रोशन दोङको फ्रिकिकमा ब्रिजेश चौधरीले गरेको गोल अफसाइड भएको थियो । २०औं मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुकेका थिए ।

नेपालले ७५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । मनीष डाँगीले हेड गोल गर्दै १–१ को बराबरीको अवस्थामा ल्याएका थिए । उनले ब्रिजेश चौधरीको क्रसमा हेड गरेका थिए । नेपालले पहिलो हाफको कमजोरीलाई सुधार गर्दै दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरेको थियो । आधा दर्जन मुभ सिर्जना गरेको भए पनि नेपालले अग्रता लिन सकेन ।

ब्रिजेश चौधरीले खेलको ५३औं मिनेटमा गरेको प्रहार क्रसबार छेउबाट बाहिरियो । कप्तान जय गुरुङको सशक्त प्रहार माल्दिभ्सका गोलरक्षकले क्लियर गरिदिए ।

नेपालमा नितिन थापाले खेलको ७१औं मिनेटमा गरेको प्रहार पनि पोलमा लागेको थियो । नेपाल यस अघिका दुवै संस्करणको विजेता हो । शनिबार समूह ‘बी’अन्तर्गत बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।