दरबन्दीअनुसार पदपूर्ति नहुँदा महाकाली अस्पताल २ जना चिकित्सकको भरमा

दरबन्दीअनुसार पदपूर्ति नहुँदा महाकाली अस्पताल २ जना चिकित्सकको भरमा

धनगढी । कञ्चनपुरको महाकाली अस्पतालले दरबन्दीअनुसार पदपूर्ति नहुँदा चिकित्सकको अभाव खेप्दै आएको छ । 

तत्कालीन महाकाली अञ्चल अस्पताल रहेको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरको अस्पताल अहिले सुदूरपश्चिम प्रदेश मातहतमा छ । अस्पतालमा अझै पनि दरबन्दीअनुसार चिकित्सक पदपूर्ति भएको छैन् । उल्टै कर्मचारी समायोजनले भएका चिकित्सक पनि रित्तिने सम्भावना बढेको छ । 

२८ जना चिकित्सकको दरबन्दी रहेको महाकाली अस्पतालमा प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भुदत्त जोशी गरी दुईजना डाक्टर मात्रै कार्यरत छन् ।

सर्जन डा. कृष्ण भट्ट समायोजनमा कान्ति बाल अस्पतालमा गएपछि दुईजना मात्रै डाक्टर बाँकी रहेका हुन् । एक डेन्टल, नौ तहका सात मेडिकल अधिकृत, १०औँ तहका १६ जना डाक्टर र ११औँ तहका चारजना डाक्टरको दरबन्दी भए पनि सोअनुसारको चिकित्सक पदपूर्ति गरिदिएको छैन । 

चिकित्सा परिचालन निर्देशनालयबाट चारजना मेडिकल अधिकृत, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एकजना मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले सामान्य रोगबाहेक गम्भीर तथा ठूला प्रकृतिका बिरामी तथा घाइते रेफर गर्ने गरेको बताउनुभयो । दरबन्दीअनुसार डाक्टरको पदपूर्ति नभएका कारण समस्या भएको उहाँले बताउनु भएको छ । उहाँका अनुसार अस्पतालमा खानेपानी र आफ्नै फार्मेसी नहुदाँ पनि समस्या भएको छ । 

महाकाली अस्पताल हुँदा हुँदै चिकित्सकको अभावका कारण यहाँका बिरामी भारतीय तथा अन्यन्त्र अस्पतालमा जान बाध्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो । अस्पताल सुधारका लागि पहल थालिएको उहाँले जानकारी दिनु भएको छ ।