धनगढीको एक ब्यापारिक प्रतिष्ठानमा छापाः साढे ४५ क्वीन्टल अवैध चिनी र ४ बोरा अवैध सुर्ती बरामद

धनगढीको एक ब्यापारिक प्रतिष्ठानमा छापाः साढे ४५ क्वीन्टल अवैध चिनी र ४ बोरा अवैध सुर्ती बरामद

धनगढी : धनगढीको एक ब्यापारिक प्रतिष्ठानमा छापा मारेर प्रहरीले साढे ४५ क्वीन्टल अवैध चिनी तथा चार बोरा अवैध सुर्ती बरामद गरेको छ । 

धनगढीको मुख्य बजारमा रहेको के. एण्ड के. टेड एण्ड सप्लायर्समा प्रहरीले बिहीबार छापा मारेर ५० केजी तौलमा ९१ बोरा चिनी बरामद गरेको हो । प्रहरीले सो पसलबाट चिनी संगै चार बोरा सुपर पावर नामक सुर्ती समेत बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयको टोलीले सो पसलमा बुधबार साँझ नै छापा मार्न खोजेको भएपनि पसल सञ्चालकले पसल बन्द गरेको र उद्योग वाणिज्य संघका पदाधिकारीको अवरोधका कारण बिहीबार बिहान मात्रै छापा मारेको हो । साँझ प्रहरीले चिनी ओसार पोसारमा संलग्न महिला सहित पसल संचालक कृष्ण पनेरुलाई भारतबाट भन्सार छलेर ल्याइएको चिनी पसलभित्र राख्दै गरेको अवस्थामा नै पक्राउ गर्न खोजेको थियो । 

प्रहरी देखेपछि हतारमा पसल बन्द गरेर पसल सञ्चालकले अवरोध गरेपछि प्रहरीले पसलको सटरमा आफ्नो ताला लगाएर भोलीपल्ट मात्रै छापा मारेको हो । प्रहरीले बरामद गरेको चिनी कैलाली भन्सार कार्यालयलाई बुझाएको छ ।

आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यलय समेतको सहयोग लिएर प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले पसल सञ्चालक पनेरुका बिल ठेलीहरु समेत आन्तरिक राजश्व कार्यालयले जफत गरेको बताउनुभयो ।

सो पसलबाट राजश्व छलेर कारोबार भएको आशंकामा आन्तरिक राजश्व कार्यालयले बिल बिजकहरु कब्जामा लिएको हो ।