अछाम : अछामको कमलबजार नगरपालिकामा बम विष्फाेट भएको। गए राति पौने १ बजे नगरपालिका कार्यालयमा बम विष्फाेट भएको अछाम प्रहरीले जनाएको छ। विष्फोट नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको समूहले गराएको प्रहरीको आशंका छ।
विष्फाेटबाट ठूलाे क्षति भने नभएको अछामका प्रहरी प्रमुख (डिएसपी) जनकबहादुर शाहीले जानकारी दिए।
प्रेसरकुकर बम नगरपालिका कार्यालयकाे ढाेकामा राखेर तार बिच्छ्याई अलि टाढाबाट विष्फाेट गराएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर बिष्टले बताए। बम कसले विष्फाेट गराएकाे र कसैले जिम्मेवारी पनि अहिलेसम्म नलिएको बताइएको छ।
विस्फोटबारे छानविनका लागि सम्बन्धित निकायको समन्वयमा प्रक्रिया अघि बढाइने बिष्टले जानकारी दिए। यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउदलाई लक्षित गरी निवासमै अज्ञात समूहले गाेली प्रहार गरेकाे थियाे।