संसदमा देउवाको आक्रोश

संसदमा देउवाको आक्रोश

संघीय संसदको बजेट अधिवेशन बिहीबारदेखि अन्त्य गरिएको छ ।

बिहीबार बसेको बैठकबाट साढे चार महिनापछि बजेट अर्थात् वर्षे अधिवेशन अन्त्यको घोषणा गरिएको हो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।

त्यसअघि, अधिवेशन समापनका अवसरमा प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमत प्राप्त सरकारले राज्य आतंक मच्याइरहेको आरोप लगाए ।

सरकारले संविधानको मर्मअनुसार काम गर्न नसकेको जिकिर गर्दै उनले सरकार एकपछि अर्को गर्दै संविधानविरोधी काम गर्न उद्धत बनेको टिप्पणी गरे ।

संविधानको सर्वस्वीकार्यता बढाउनसमेत सरकार असफल हुनु दुःखद् भएको उनको भनाइ थियो ।

सरकारको साढे एकवर्षे कार्यकालमा इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाउँदै सभापति देउवाले ‘वाइडबडी’, ‘न्यारोबडी’ जहाज खरिद र सुनकान्डजस्ता ठूला भ्रष्टाचारका विषयमा छानबिन गरेको खोइ ?’ भनी प्रश्न गरे ।

उनले जनताले तिरेको तलब खाने प्रहरी र कर्मचारीलाईसमेत सरकारले पार्टी कार्यकर्ताजस्तो बनाएको भन्दै शान्ति–सुरक्षा र सुशासनमा सरकार पूर्णतः असफल भएको आरोप लगाए ।

संविधानमा कमी–कमजोरी भए सच्याउन तयार : नेम्वाङ

बैठकलाई सम्बोधन गर्दै सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानमा कमी–कमजोरी भए सच्याउन तयार रहेको भन्दै संविधान कार्यान्वयनका लागि थुप्रै काम भइसकेकाले निराश हुनुपर्ने ठाउँ नरहेको जिकिर गरे ।

राजनीतिक परिवर्तनका लागि अब कसैले सशस्त्र आन्दोलन गर्न नपर्ने भन्दै नेम्वाङले सहमतिका आधारमा अघि बढ्नुको विकल्प नभएको बताए ।

बजेट अधिवेशन अन्त्यअघि बिहीबारै प्रधानमन्त्री ओलीले गर्ने भनिएको सम्बोधन अन्तिम अवस्थामा स्थगित गरिएको थियो ।

बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । बजेट र केही महत्वपूर्ण विधेयकहरु पारित भएका छन् ।

तर, नागरिकता, मिडिया काउन्सिल, संघीय निजामती सेवालगायतका विधेयक भने संसदबाट पारित हुन बाँकी छ ।