नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई देउबाको निर्देशन

नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई देउबाको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन् ।

देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाले निर्देशन दिएको पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन विधेयकमा कांग्रेसका सांसदहरुले फरक मत राखी अघि बढ्न दिएका छैनन् ।

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने कांग्रेसको फरक मत छ ।

बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धी विधेयक पनि संसदबाट जबरजस्ती पारित गरेको भन्दै आपत्ति जनाएका थिए ।