डिउटीका प्रहरीमाथि हातपात गरेको आरोपमा बाजुरामा ५ जना पक्राउ

डिउटीका प्रहरीमाथि हातपात गरेको आरोपमा बाजुरामा ५ जना पक्राउ

धनगढी । डिउटीमा खटिएका प्रहरी टोली माथि हातपात गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बडिमालिका नगरपालिका–८ मा लागेको अनन्ते मेला सुरक्षामा खटिएका प्रहरीमाथि मदिरा सेवन गरेर हातपात गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिनुभयो । 

शनिबार साँझ मेलामा मदिरा सेवन गरी होहल्ला गर्दै हिँडेका अमृत बोहरा, केशव गिरी, हरिशंकर जोशी, बडिमालिका नगरपालिका–८ का गोरख थापा र सोही वडाकी धनी थापालाई प्रहरीले नियन्त्रणमा लिएको ढुंगानाले जानकारी दिनुभयो । नियन्त्रणमा लिन खोज्दा उनिहरुले उल्टो प्रहरीमाथि नै हातपात गरेका थिए । हातपातबाट डिउटीमा खटिएको टोली प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर चन्द सहित प्रहरी जवानहरुलाई चोट लागेको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो । 

घाइते सहायक निरीक्षक चन्दलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नहुँदा जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ । पक्राउ गरिएका पाँच जना माथि अनुसन्धान भइरहेको ढुंगानाले जानकारी दिनुभयो । 

अनन्ते मेलालाई व्यवस्थित बनाउन बडिमालिका नगरपालिका र अन्य सरोकारवालाको बैठकले मेला अवधिभर मदिरा बिक्री, वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको थियो । मेला अवधिभरमा बेच्नेलाई पाँच हजार र सेवन गरेको भेट्टाएमा २ हजार ५ सय जरिवाना तोकेको थियो ।