नागरिकता सम्बन्धी विधेयकमा नेपाली कांग्रेसको लिखित असहमति

नागरिकता सम्बन्धी विधेयकमा नेपाली कांग्रेसको लिखित असहमति

संघीय संसदमा छलफलमा रहेको नागरिकता सम्बन्धी विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमति जनाएको छ । प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको विधेयकको बैबाहिक अंगीकृत नागरिकता प्राप्ति सम्बन्धि व्यवस्थामा प्रमुख प्रतिपक्षी दलले असहमति जनाएको हो । समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको थियो ।
समितिका सभापति शशि श्रेष्ठले नेपाली पुरुषसंग विहे गरेर आउने विदेशी महिलालाई दिईने वैवाहिक अंगीकृत नागरिकता पाउनका लागि बिबाह भएको ७ वर्ष हुनुपर्ने संशोधन प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउदै सभापति श्रेष्ठलाई बुझाएका थिए ।   
कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संवैधानिक एवम् सामाजिक जटिलताहरु समेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगिकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाएका छन् । 
नेपाली कांग्रेसले सभापतिलाई बुझाएको लिखित असहमति पत्रमा कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरु दिलेन्द्र प्रसाद बडू, मिना पाण्डेय, देवेन्द्रराज कँडेल, अमरेश कुमार सिंह, डाक्टर डिला संग्रौला र विनोद कुमार चौधरीको नाम भएपनि बडू, पाण्डे, सिंह र संग्रौलाको मात्रै हस्ताक्षर छ । सत्तापक्षका समिति सदस्यहरु नवराज सिलवाल, झपट वहादुर रावल लगायतले प्रस्तावित व्यवस्थाको समर्थन गरेका थिए ।