सोह्रश्राद्धको प्रारम्भसंगै बढ्यो दशैंको चहलपहल

सोह्रश्राद्धको प्रारम्भसंगै बढ्यो दशैंको चहलपहल

धनगढी । दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका रहेको पाइन्छ । आजबाट यो पितृपक्ष प्रारम्भ भयो ।

पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ जसमा सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा आफ्ना बाबू, बाजे लगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भूत नमूना रुपमा १६ श्राद्धलाई लिने गरिन्छ । 


हिजोआज बिहान बिहानको मौसमले एकप्रकारको चाडबाडको सुगन्ध सहितको संकेत महसुश गर्ने गरिन्छ । नेपालमा दशैंको अनुभूति दिने यी बिहानहरूमा आकाशको नीलोपना अनि बादलको स्वच्छता बढ्दै गएको देख्न सकिन्छ । 


१६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गर्ने गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ–आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन भन्ने मान्यता पनि हाम्रो गाउँ समाज तथा संस्कृतिमा रहि आएको पाइन्छ । 

यसरी पूर्णिमाबाट शूरु भएको पितृपक्ष औंशीका दिन सम्पन्न चल्ने गर्दछ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुनुका साथै आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ ।

विहानै देखि मौलिक विशेषता बोकेका पारम्परीक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने चलन पनि यथावत् नै रहेको पाइन्छ ।