नेकपा सुदूरपश्चिमको टोली गोदावरीमा, टाढैबाट राजधानी निर्माण स्थलको अवलोकन

नेकपा सुदूरपश्चिमको टोली गोदावरीमा, टाढैबाट राजधानी निर्माण स्थलको अवलोकन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका नेताहरुले शुक्रबार गोदावरी क्षेत्रको अवलोकन गरेका छन । गोदावरी गुरुयोजना अन्तरगत भईरहेका कामको अवलोकन गर्न गएको टोलिले गोदावरीमा पछिल्लो समय बाढीले पुगाएको क्षतिका बारेमा पनि जानकारी लिएको छ । टोलिले गुरुयोजना अन्तरगत निर्माण भईरहेको कैवलनाथको मन्दिरको पनि अवलोकन गरेको छ ।

अवलोकन टोलिमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज एवं स्थायी कमिटी सदस्य भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश सांसद चुन कुमारी चौधरी , प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, सह इन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी लगायतको सहभागीता हरेको थियो ।

कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने निर्णय कार्यान्वयमा नआएको भनी चर्को आलोचना भईरहेको बेला गोदावरी क्षेत्रमा गएको टोलिले राजधानी निर्माण स्थलको भने टाढैबाट अवलोकन गरेको छ ।

टोलीमा सहभागी प्रदेश सभाकी सदस्य चुनुकुमारी चौधरीले प्रदेश सरकारले चालु आबमा राजधानीको लागी बजेट छुट्याएकोले अब काम शुरु हुने बताईन । उनले नेकपाका शिर्ष नेताहरुको गोदावरी भ्रमण राजधानीको कार्य थालनीको रुपमा नै बुझ्न आग्रह गरिन ।

प्रदेशको स्थायी राजधानी गोदावरी बनाउने प्रस्तावलाई गत बर्ष असोज १२ गतेको प्रदेश सभाको बैठकमा दुई तिहाइ बहुमतले पारित गरेको झण्डै एक बर्ष पुग्न लाग्दा पनि कार्यान्वय नभईरहेको बेला नेताहरुको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बन क्षेत्रमा राजधानी राखिएको भन्दै अदालतमा दुईवटा रिट परेपछि राजधानी कार्यान्वयनको कार्य अगाडी बढन सकेको छैन ।