अज्ञात समुहद्धारा कञ्चनपुरका वडा अध्यक्षको गाडीमा आगजनी

अज्ञात समुहद्धारा कञ्चनपुरका वडा अध्यक्षको गाडीमा आगजनी

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वडा अध्यक्षको गाडीमा अज्ञात समुहद्धारा आगजनी गरिएको छ । 


शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर– ७ का वडा अध्यक्ष जगतबहादुर सिंहको बा २१ च ८५०७ नम्बरको निजि कारमा आगजनी गरिएको र आगजनीबाट कारको पछाडीको भाग जलेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनसिंह साउँदले जानकारी दिनु्भयो ।

शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको डेरा नजिकै पार्किङ गरिएको कारमा आगजनी भएको प्रहरी निरिक्षक साँउदे बताउनुभयो । आज बिहान करिब १ बजे तिर आगो लगाइएको प्रहरीले जनाएको छ । आगलागी कसले र किन गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साउँदले बताउनुभयो । 


वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहनुभएका सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरु माथि आशंका व्यक्त गर्नुभयो । उक्त गाडी दुई महिना अघि मात्रै वडा अध्यक्षले खरिद गर्नुभएको थियो ।