भन्सारबाट हुने आयात–निर्यातमा ठूलो असन्तुलन

भन्सारबाट हुने आयात–निर्यातमा ठूलो असन्तुलन

धनगढी । कञ्चनपुर भन्सारबाट हुने आयात–निर्यातमा ठूलो असन्तुलन देखिएको छ । भारतबाट गरिने आयातको तुलनामा नेपालबाट थोरै निकासी हुँदा व्यापार घाटा देखिएको हो ।

भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा यो नाकाबाट रू. १ अर्ब १५ करोड ६९ लाख बराबरको सामान आयात भएको छ । तर निर्यात भने रू. १० करोड ७० लाख बराबरको मात्र भएको भन्सार कार्यालयका सूचना अधिकारी केशव विष्टले जानकारी दिनुभयो ।  
सूचना अधिकारी विष्टका अनुसार गड्डाचौकी नाकाबाट तरकारी, फलफुल, कपडा र कागज बढी मात्रामा भित्रिने गरेको छ भने नेपालबाट घ्यू, रिठा, तेजपत्ता लगायत वस्त निकासी हुने गरेको  छ ।

अघिल्लो आर्थिक वर्षमा यो भन्सारबाट रू. १ अर्ब २० करोड २४ लाख बराबरको सामान आयात गरिएको थियो । सो आवमा निर्यात भने रू. ३ करोड ४१ लाखबराबरको भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो । सुदूरपश्चिममा उत्पादनमूलक उद्योगधन्दा खासै नभएकाले निकासी बढ्न नसकेको हो ।

पहाडी क्षेत्रबाट आउने सामान पनि पछिल्लो समय घट्दै गएको छ । अत्यावश्यक सबैजसो वस्तुका लागि भारतसँग निर्भर रहनुपर्दा व्यापार असन्तुलन वर्षेनी बढिरहेको छ ।