कैलालीमा नेकपाका नेताको गाडीमा आगजनी

कैलालीमा नेकपाका नेताको गाडीमा आगजनी

कैलालीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक स्थानीय नेताको गाडीमा आगजनी गरिएको छ । घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गए राति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी भएको कैलाली प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । ‘राति करिब १२ बजे पछि आगो लगाइएको अनुसन्धानबाट खुलेको छ ’उनले भने, ‘छिमेकीले थाहा पाएपछि घरका अन्य सदस्यले आगो नियन्त्रणमा लिए ।’ आगलागी कसले र किन गरेको हो भन्ने बारेमा अझै यकिन भइनसकेको उनले जानकारी दिए ।
को हुन् जोशी ?
जोशी तत्कालीन माओवादीका केन्द्रीय सदस्य थिए । पार्टी एकीकरण पछि उनी जिम्मेवारीविहीन छन् । अज्ञात समूहले आगजनी गरेको गाडी पनि तत्कालीन माओवादीकै नाममा रहेको प्रहरीले जनाएको छ । गाडीमा आगजनी गरिएको समयमा नेता जोशी घरमा नरहेको प्रहरीले जनाएको छ ।