प्रहरीको भेसमा युवती अपहरण गर्ने ३ जना पक्राउ

प्रहरीको भेसमा युवती अपहरण गर्ने ३ जना पक्राउ

नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण गर्ने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर – १६ का २९ वर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ वर्षीय अनिल राना र २२ वर्षीय सन्दीप राना रहेका छन् ।

कैलाली प्रहरीका अनुसार २१ गते राती १२ बजे धनगढीको जाखोर ताल नजिककी १६ वर्षीय युवतीलाई उनीहरूले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै अपहरण गरेका थिए ।

२२ गते राती प्रहरीले उनीहरूलाई वडा नम्बर १६ बाट पक्राउ गरी युवतीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

१६ वर्षीय युवतीको स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध अपहरण, शारीरिक बन्धक र जवरजस्तीकरणीमा मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।