डेढ किलो सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

डेढ किलो सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो चारसय ग्राम अवैध सुन बरामद भएको छ । सुनसहित तीनजना पक्राउ परेका छन् । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले कतारबाट आएका व्यक्तिको साथबाट १४ सय ग्राम सुन बरामद गरेको हो।

‘कतारबाट आएको हिमालयन एयरलाइन्सको विमानमा आएका व्यक्तिलाई शंका लागेर कर्मचारीले खानतलासी गर्दा मसला कुट्ने खलमा लुकाएर ल्याएको १४ सय ग्राम सुन बरामद भएको छ’ त्रिभूवन विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख ध्रुब विश्वकर्माले देश सञ्चारसँग भनेका छन्।

सुन लिएर आएका होमबहादुर गुरुङलाई भन्सारका कर्मचारीले नियन्त्रणमा लिएको र उनलाई रिसिभ गर्न गएका दुईजनालाई प्रहरीले पक्राउ गरेको उनले बताए । बिहान ११ बजेतिर सुनसहित उनीहरु पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त प्रमुख विश्वकर्माले जानकारी दिए।