डमरु हुर्काउन पोथी बाघ मोहना तटीय क्षेत्रमा

डमरु हुर्काउन पोथी  बाघ मोहना तटीय क्षेत्रमा

धनगढी–डमरु हुर्काउन पोथी बाघ धनगढी भन्सार नजिकै मोहना तटिय क्षेत्रमा आइपुगेको छ । एक सातादेखि सो क्षेत्रमा पोथी बाघ डमरुसहित हिँडडुल गर्न थालेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ स्थित पुरानो मसानघाट बस्तीमा रातिको समयमा हिँडडुल गर्ने गरेको स्थानीय बताउँछन् ।

स्थानीय लहानु चौधरीका अनुसार पोथी बाघ र दुई वटा बच्चाका पाइलाका छापा मोहना तटिय क्षेत्रको बालुवामा देखिएको छ । सो क्षेत्रमा दुई दिन बाघ देखिएको उहाँले बताउनुभयो । ‘एक साता अघि तटिय क्षेत्रमा चर्दै गरेको गाईको बाच्छालाई बाघले सिकार ग¥यो,’ उहाँँले भन्नुभयो, ‘त्यसपछि दोस्रो पटक पनि सोही क्षेत्रमा बाघ डमरुसहित पुगेको पाइला देखिन्छ ।’ नजिकै भारतीय भूमिमा दुधुवा नेशनल पार्क रहेको र त्यहाँबाटै बाघ डमरुसहित नेपाल पसेको हुनसक्ने गाउँँलेहरुको अनुमान छ । रातिको समयमा बाघ नदी किनारबाट आफ्नो घरको आँगनको डिलसम्मै पुगेर फर्केको पाइला भेटेको रश्मी चौधरीले बताउनुभयो । बाघको पाइला आँगनको डिलसम्मै देख्दा त्रास बढेको उहाँले बताउनुभयो । 

मोहना नदीमा पछिल्लो समयमा स्थानीयले संरक्षण गर्न थालेपछि नदी किनारमा खर र झाडीले भरिएको छ । बाघ दुधुवा नेशनल पार्कबाट मोहना–लालझाडी करिडोर हुँदै सोही खर र झाडीमा लुक्दै भन्सार नजिकै पुगेको स्थानीय बताउँछन् । ‘बाघ मोहना–लालझाडी करिडोर भएर माथिबाट मोहना तटिय क्षेत्रमा आएको पाइलाबाटै देखिन्छ,’ अर्का स्थानीय लवरु चौधरीले भन्नुभयो बाघले गाईको सिकार गरेकाले पनि दुई पटक यहाँ पुगेको हुनसक्ने उहाँ बताउँनुहुन्छ 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौंका इकोलोजि शाखाका सहायक इकोलोजिष्ट भूपेन्द्र यादवका अनुसार दुधुवा नेशनल पार्कमा डमरुलाई जन्म दिएपछि उनीहरुलाई बचाउनका लागि पोथी बाघ डमरुसहित नेपालतर्फ आएको हुनसक्छ । ‘भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न नेपालतर्फको जंगलमा आएको हुनसक्छ,’ बाघको बासस्थानमा भाले बाघ पनि सँगै हुने भएकाले केही समय डमरु हुर्काउन पोथी बाघले स्थान परिवर्तन गर्छ, त्यही सिलसिलामा मोहना तटिय क्षेत्रमा आइपुगेको हुनसक्क्ने सहायकक इकोलोजिष्ट यादवले बताउनुभयो । उसै पनि मोहना–लालझाडी करिडोर बाघको ओहोर–दोहोर हुने क्षेत्र भएको बताउँदै उहाँले बाघ डमरुसहित दुधुवा नेश्नल पार्कबाट करिडोर हुँदै मोहना तटिय क्षेत्रतर्फ झरेको हुनसक्ने बताउनुभयो ।’ 

डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने उहाँको सुझाव छ । ‘यस्तो बेला पोथी बाघले बढी समय डमरुको हेरचाहमै खर्चेको हुन्छ र भोकाएको पनि हुन्छ । त्यसैले यो बेला बाघ आफ्नो अगाडि जे भेटे पनि सिकार गर्छ ।
मोहना तटिय क्षेत्रमै बाघ आइपुग्नु वन्यजन्तु संरक्षणका हिसावले खुसीको कुरा भएको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐर बताउँनुहुन्छ ।

मोहना–लालझाडी करिडोरमा वन्यजन्तु संरक्षणमा वर्षौदेखि लागि रहेकाहरुका लागि यस्तै समयमा बाघ मोहना तटिय क्षेत्रमै आइपुग्नु खुसीको कुरा हो भएको उहाँले बताउनुभयो । तर बाघ बस्ती नजिकै पुगेकाले स्थानीयलाई भने त्रसित बनाएको उहाँको भनाई छ ।
नागरिकन्युजबाट