‘डेंगी प्रकोपको रूपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन’

‘डेंगी प्रकोपको रूपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन’

पछिल्लो समय देशका ४८ जिल्लामा भेटिसकिएको डेंगी रोग ‘प्रकोप’का रूपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसँग आग्रह गरे।

सांसद कृष्णगोपाल श्रेष्ठले आज काठमाडौंको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेंगी रोगका कारण मृत्यु हुन पुगेको जानकारी गराए।

सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेंगी नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेंगी रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताए।

उनको प्रश्न गरे, ‘डेंगी नियन्त्रण गर्ने काम नेपाली सेनाको हो? के सेना परिचालन गर्न मिल्छ?।’

सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रूपमा फैलिएको डेंगी नियन्त्रण गर्न सरकार असफल बनेको बताइन्। सांसद नरमाया ढकालले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेंगी नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने बताए।

मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग ४८ जिल्लामा फैलिएको, तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चार जनाको अकालमा मृत्यु भएको तथ्यांक रहेको छ।

मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाइ परेको जनाइएको छ।